धरानः धरानमा नेपाली कांग्रेसको चुनावी माहौल र रौनक बढ्दै गएको छ ।
शुक्रबार किशोर राई प्यानलको उम्मेदवारी घोषणा भएको छ । केन्द्रीय तहका ‘ह्याभीवेट’ का नेता, पूर्वमन्त्री समेत बनिसकेका तथा स्थानीय कार्यकर्ताहरुको उपस्थितिमा उनको प्यानल घोषणा भएको हो । कार्यक्रममा केन्द्रीय तहमा राम्रो पकड जमाउन सफल पूर्वमन्त्री तथा केन्द्रीय सदस्य मीन विश्वकर्मा, मीना सुब्बा साथै प्रदेश १ का पूर्व प्रदेश प्रमुख गोविन्द सुब्बालगायतको उपस्थितिमा उम्मेद्वारी घोषणा कार्यक्रम राखिएको थियो । कार्यक्रममा स्थानीयस्तरका नेता कार्यकर्ताको पनि बाक्लो उपस्थिति नै थियो ।
१४ औं महाधिवेशनका लागि ‘सामूहिक नेतृत्व, मजबुत संगठन, पारदर्शिता, अनुशासन, सुशासन र विकास हाम्रो प्रतिबद्धता’ नारासहित उनको प्यानलको उम्मेद्वारी घोषणा भएको हो । धरान उपमहानगर कार्यसमितिका लागि सभापतिमा राईसँगै उपसभापतिमा महेन्द्र तामाङ र राजकुमार थोप्रा, सचिवमा रुकमणि गौतम (कोपिला) र सुमन श्रेष्ठ र सहसचिवमा कमला रुचाल र गोपाल कार्कीको उम्मेद्वारी घोषणा भएको छ ।

कार्यक्रममा बोल्दै सभापतिका प्रत्याशी राईले आफूलाई एकपल्ट मौका दिन आग्रह गरे । ‘एकपल्टलाई सभापतिका लागि यहाँहरुलाई आग्रह गरें, जिताउनुहोस्, आगामी दिनमा सभापति र स्थानीय तहको निर्वाचनमा किशोरले झोला बोकेर योग्य, सबल, सक्षम नेतृत्वलाई सहयोग गरेर शत प्रतिशत जिताउँछ, जिताउन सकेन भने त्यहीदिन आफ्नो पदबाट राजनीमा दिन्छ ।’
उनले आफ्नो दुईवटा सपना रहेको बताउँदै भने, ‘फुटबलमा धरानलाई अगाडि बढाउने र धरानलाई मिनी हङकङ बनाउने ।’ उनले सपना पूरा गर्नका लागि पनि एकपल्ट मौका दिन आग्रह गरे । थपे, ‘मैले फुटबललाई अन्तर्राष्ट्रियस्तरसम्म चिनाइसकेको छु, अन्तर्राष्ट्रियस्तरका टिम ल्याएर २२ वर्षदेखि फुटबल खेलाइरहेको छु र थप चिनाउँदै जानेछु, यस्तै, मेरो अर्को सपना सुनसरीलाईचाहिँ भन्दिनँ धरानलाई मिनी हङकङ बनाउने हो । तर त्यो सपना एउटा किशोरले मात्रै पूरा गर्ने होइन, सिङ्गो कांग्रेसले मात्रै पूरा गर्न सक्छ ।’
प्यानलले १६ बुँदे प्रतिबद्धता पत्र पनि सार्वजनिक गरेको छ । धराने जनतामाझ कांग्रेसप्रतिको विश्वास र भरोसालाई बढाउँदै उदार लोकतान्त्रि चरित्रको बनाउने, पार्टीभित्र अनुशासन, सुशासन, दिगो कल्याणकारी कोष स्थापना, ६ महिनामा विशेष सम्मेलन गरिनेदेखि राजनीतिमा देखिएको भ्रष्टाचार, अराजकता र अनियमितताले जनताका विश्वास गुमेकोले छविलाई स्वच्छ, पारदर्शी बनाउँदै सबैले आ–आफ्नो सम्पत्ति विवरण अनिवार्यरुपमा बुझाउनुपर्ने नियम लागू गर्नेलगायतका कुरा प्रतिबद्धतापत्रमा समेटिएको छ ।
कार्यक्रममा बोल्दै उपसभापति पदका उम्मेदवार महेन्द्र तामाङले यसअघिका उम्मेदवारले लगाएको आरोपप्रति खण्डन गर्दै भने, ‘हिसाबकिताबमा आफूहरु पारदर्शी छौं, नत्र उपमहानगरपालिकामा गएर खाता पल्टाएर हेर्दा हुन्छ ।’
कार्यक्रममा बोल्दै पूर्व मन्त्री तथा केन्द्र्रीय सदस्य विश्वकर्माले कांग्रेसमा गुटउपगुटभन्दा पनि स्थानीय नेताहरु प्रतिस्पर्धामा गएको बुझिदिन आग्रह गरे । उनले यसपल्टदेखि कांग्रेसतिर जनताको मन गइसकेकोले कांग्रेसले देशभरी नै जित्ने ठोकुवा गरे । कार्यक्रममा केन्द्रीय सदस्य मीना सुब्बा, पूर्व प्रदेश प्रमुख गोविन्द सुब्बा, क्षेत्रीय सभापति सुरेशमान श्रेष्ठ, कांग्रेसका नेता विनोद राई, अजय राईलगायत बोलेका थिए ।
कार्यक्रममा बोल्दै अजय राईले आफू पनि सभापतिको उम्मेदवार लड्ने भनेर तारतम्य गरेपनि यसपटक किशोर राईलाई सघाउने भन्दै पछि हटेको धारणा राखे । आउँदो असोज ९ गते धरानमा महाधिवेशन सम्पन्न हुनेछ । त्यसको लागि यसअघि नै अर्को प्यानलबाट उम्मेदवारी घोषणा भइसकेको छ ।
