तरहरा । इटहरी उपमहानगरपालिका वडा नं. २० को तरहरामा शनिबार हुने इतिहासकै पहिलो ऐतिहासिक तरहरा रनको सम्पूर्ण तयारी पुरा भएको, आयोजकले जानकारी दिएको छ । बिहिबार बिहान पत्रकार सम्मेलन गर्दै अपेक्षा गरेभन्दा पनि बढी सहभागि भएकोले रनको रजिष्ट्रेशन फर्म पनि बन्द गरिसकिएको जनाईएको छ ।
हामीले अपेक्षा गरेभन्दा पनि बढी सहभागिता भएकोले व्यवस्थापनको पाटोलाई मध्यनजर गर्दै १७ सय धावकपछि हामीले रजिष्ट्रेशन फर्म बन्द गरिसकेका छौं ।, पत्रकार सम्मेलनमा तरहरा रनका अध्यक्ष शिब रुम्दाली राईले शनिबारको कार्यक्रम बारे भने, जिल्ला प्रशासन कार्यालय, ट्राफिक प्रहरी, इलाका र तरहरा प्रहरी, उपमहानगर र वडाका साथै स्थानीय संघसंस्था र स्वंयमसेवकहरुसँगको यथोचित समन्वय र सहकार्य गरि शनिबारका लागि व्यवस्थापन पनि मजबुत गरेका छौं ।
राईले रन भव्य बनाउनका लागि सबैको सहयोग आवश्यक रहेको र त्यसका लागि सहजीकरण गरिदिन पनि अनुरोध गरेका छन् । उनको दाबी अनुसार रन ऐतिहासिक बनाउन स्वतस्फूर्त रुपमा स्थानीय भाईबहिनीहरु (युवाहरु) लागेका छन् । दौड प्रतियोगिताका विजेताले नगद ३० हजार, उपविजेताले २० हजार र तृतीय हुनेले १० हजार (महिला पुरुष दुवै) सहित मेडल प्राप्त गर्नेछन् । त्यस्तै, १६ वर्षभन्दा कम उमेरका धावकमध्ये विजेताले नगद १० हजार, उपविजेतलाई सात हजार र तृतीयलाई पाँच हजार प्राप्त गर्नेछन् । त्यसैगरि, १२ वर्षभन्दा कम उमेरका धावकमध्ये विजेता, उपविजेता र तृतीयलाई क्रमशः नगद पाँच हजार, तीन हजार र दुईहजारसहित मेडल पाउनेछन् ।
सहभागि १७ सयलाई नै मेडल प्रदान गरिने समेत, जानकारी गराईयो ।
शुरुवाती चरणमा २३ लाख अनुमान गरिए पनि धावक बढेकाले अनुमानित खर्च २५ लाख पुगेको मूल संयोजक मीनकुमार खवासले जनाए ।
जनाईअनुसार, दुईवटा एम्बुलेन्स र पाँचजना स्वास्थ्य सेवा प्रदायकलाई पनि तयारी अवस्थामा राखिनेछ ।
रन सफल बनाउनका लागि वडा, उपमहानगरपालिका, स्थानीय संघसंस्था, व्यवसायी, सामाजिक व्यक्तित्व, र देशबाहिरबाट समेत आर्थिक सहयोग भईरहेकोमा अध्यक्ष राईले सबैलाई धन्यवाद दिएका छन् । उनले पारदर्शीताका लागि कार्यक्रम सकिएपछि आम्दानी र खर्च विवरण पुनः पत्रकार सम्मेलन गरि प्रस्तुत गरिने बताए ।