डि. भण्डारी । तरहरा
संकटमय तरहरालाई केही दिनयता तरहरा जेसीजले उत्साहमय बनाईदिएको छ । शनिबार शुरु तरहरा जेसीजको सप्ताहव्यापी कार्यक्रममा गत शनिबार ‘जेसीज रन’ गर्दै तरहरालाई जगाउन लागे । यो हप्ताभर सप्ताहव्यापी कार्यक्रम गर्दै उसले रौनक ल्याउने छ ।
शनिबार शुरु जेसीज रन कार्यक्रम सुनसरी जिल्लाभन्दा बाहिर भोजपुरसम्मका धावकहरू तरहरा आए र दौंड प्रतियोगितामा सहभागी भए । उद्घाटनमा इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले खेलाडी र आयोजक तरहरा जेसीजको प्रशंसा गरे । आइतबार भएको ‘स्लो बाइक रेस प्रतियोगिताले तरहरामा फरक माहोल बनायो । कोसी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रहरी उपरीक्षक सरोज पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा ट्राफिक सचेतना सम्बन्धी पनि कार्यक्रम रह्यो । मंगलबार फुटसल प्रतियोगिता, बुधबार रक्तदान कार्यक्रम, शुक्रबार अन्तर विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता र शनिबार गजल साँझ गर्दै सप्ताह कार्यक्रम समापन हुने, तरहरा जेसीजका अध्यक्ष बहादुर तामाङले जानकारी गराएका छन् ।
हिमांशु विश्वकर्माको मूल संयोजक रहेको सप्ताव्यापी कार्यक्रमहरुका संयोजकहरूमा सुरज लामा, गोविन्द लामिछाने, सरोज बस्नेत, विनिता तामाङ, रोशन भुजेल र सुमन रेग्मी रहेका छन् ।
महासचिव चेवन खतिवडाका अनुसार, यो साताव्यापी कार्यक्रमले समाजमा सकारात्मक सन्देश जाने र सामाजिक रुपान्तरका लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास जेसीजको छ ।