इटहरी १९ ब्रहमपुर । शुक्रबार यहाँ भव्य शुरु भएको प्रथम अल्टिट्युड रनिङ कप फुटवल प्रतियोगितामा ट्राइबेकरमा ३–१ ले नेपाल पुलिस क्लब कोशी प्रदेश बिराटनगरलाई आयोजक अल्टिट्युड क्लवले विजयी हासिल गरेको छ ।
शुरुवाती देखि नै आयोजकमाथि हावी देखिएको पुलिस क्लबले खेलको पहिलो हाफको २७औँ मिनेटमा गोल गर्दै आयोजक टिमलाई झस्का दिएको थियो । पुलिस क्लवको तर्फबाट जर्सी नम्बर ५ का पेवल कटवालले सो गोल गरेका थिए । तर, त्यसको तीन मिनेट नपुग्दै आयोजक टिमलाई फ्रि किक हान्ने मौंका मिल्यो ।
आयोजकका तर्फबाट बिशाल भण्डारीले त्यसको शानदार सदुपयोग गर्दै उत्कृष्ट गोल गरे र खेल बराबरीमा पारेर पुलिस टिमलाई हैरान पारे । रोचक भिडन्तमा आयोजकमाथि पुलिस क्लब हावी भएको स्पष्ट देखिए पनि आयोजकले लय गुमाएको थिएन् ।
सयौंका दर्शक उपस्थीति रहेकोमा खेलका दोश्रो हाफको पाँचौँ मिनेटमा भने आयोजकले चमत्कार देखाए ।
जर्सी नम्बर ७ का उमेश राईले गोल गर्दै खेललाई २–१को अग्रता दिलाएपछि पुलिस क्लब हच्किए । तर, पुलिस क्लबका जर्सी नम्बर ७ का महादेव तामाङले खेलको निर्धारित समयको अन्तिम चरणमा पुलिस क्लबको तर्फबाट थप एक गोल गरेपछि खेल २–२को बराबरीमा रोमाञ्चक बनियो ।
निधारित समयमा नै खेल सकिने अनुमान गलत साबित हुदै खेल ट्राइबेकरमा गएर टुंगियो ।
आयोजक क्लबका उपाध्यक्ष सुन्दर मणी राईले दिएको जानकारी अनुसार, क्लवका बिशाल भण्डारी खेलको म्यान अफ द म्याच घोषित हुँदै नगद रु २५सय र ट्रफी प्राप्त गर्न सफल भए । उनलाई इटहरी १९ का वडाध्यक्ष श्रीनारायण चौधरीले सो पुरुस्कार दिए ।
कोशी प्रदेशका प्रदेश प्रमुख माननीय प्रशुराम खापुङ्गको प्रमुख आतिथ्यमा भएको समुद्घाटनमा प्रदेश १, हालः कोशी प्रदेश, का पूर्व मुख्यमन्त्री राजेन्द्रकुमार राई, अन्य विशिष्ट अतिथीहरु, वडाका जनप्रतिनिधी लगायत क्लबका पदाधिकारी र सदस्यहरु उपस्थीत थिए ।
सो समुद्घाटनमा उपाध्यक्ष सुन्दर मणी राईले स्वागत मन्तव्य राखेका थिए भने क्लबका अध्यक्ष पिताम्बर तिम्सिनाको सभापतित्व समुद्घाटन भएको थियो ।
प्रतियोगिताको संयोजक इटहरी १९ र १७ को ब्रमहपुर सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष तथा युवा शसक्त नेता मनोज तामाङ्ग हुन् ।
उनले आफ्नो क्षेत्रमा यो स्तरको प्रतियोगिता गर्न पाउदाँ खुशी लागेको बताए ।