इटहरी । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले संघीय समिति र प्रदेश १ समितिले २४औं स्थापना दिवस जारी पहिचान आन्दोलनप्रति एक्यवद्धता जनाउँदै लिम्बूवान किराँतको विराटनगरमा मनाउने निर्णय गर्दै यस वर्ष विभिन्न छ जना प्रतिभालाई सम्मानित र पुरस्कृत गर्ने भएको छ । फोनिजले कोशी प्रदेशलाई लिम्बूवान किराँत नामकरण गरिनु पर्ने जोड दिदै आएको छ ।
फोनिजले स्थापना गरेको राष्ट्रिय पत्रकारिता सम्मान र पुरस्कार २४ औँ स्थापना दिवसको अवसर पारेर फोनिज राष्ट्रिय पत्रकारिता सम्मान–२०८० बाट सरोकार टेलिभिजन काठमाडौंका दिलिप थापामगर, फोनिज मातृभाषा पत्रकारिता सम्मान–२०८० बाट नेपालभाषा टाइम्स दैनिक, काठमाडौं, फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८० बाट किसन राई (मरणोपरान्त), हङकङ सम्मानित हुदैछन् ।
त्यस्तै, देव पचभैया मगर, श्रीनगर एफएम, पाल्पा, जीवन लामा, कालिन्चोक सन्देश, दोलखा र उन्नति चौधरी, केर्नीन्यूज, कैलाली पुरस्कृत हुँदैछन् ।
पुरस्कार तथा सम्मान छनोट गर्न निवर्तमान अध्यक्ष डण्ड गुरुङको संयोजकत्वमा सल्लाहकारद्वय आङदावा शेर्पा र मनोज घर्तीमगर सदस्य रहनुभएको ‘पुरस्कार तथा सम्मान छनोट समिति’ गठन गरिएको थियो ।
पुरस्कार र सम्मान फोनिजको २४औँ स्थापना दिवसका अवसरमा २०८० साउन २७ गते प्रदेश १ को विराटनगरमा आयोजना गरिने मूल समारोहमा प्रदान गरिने फोनिज संघीय महासचिव मिलन लिम्बूले बिहिबार जारी गर्नुभएको प्रेस नोटमा जानकारी गराईएको हो ।
