सर्लाही, फागुन २८ गते । १३ बुँदे सर्लाही हरिवन घोषणापत्र जारी गर्दै सर्लाहीको हरिवनमा शनिबारदेखि सुरु भएको नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को नीति तथा विधान सम्मेलन आइतबार साँझ सम्पन्न भएको छ ।
सम्मेलनलाई सम्वोधन गर्दै पर्यटनमन्त्री किराँतीले स्थानीय परिकार तथा सँस्कृतिको जगेर्ना गर्दै देशको पर्यटन क्षेत्रलाई विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
मन्त्री किराँतीले कोशी प्रदेशमा पहिचानको आधारमा प्रदेशको नामकरण नगरिएकोमा आफ्नो व्यक्तिगत असन्तुष्टी रहेको उल्लेख गर्नुभयो । आदिबासी पहिचानको संघर्ष अझै नसकिएको भन्दै उहाँले ढिलोचाँडो पहिचानको मुद्दा स्थापित हुने विश्वास व्यक्त गर्नुभयो । आदिबासी परिकार तथा संस्कृतिलाई पर्यटक भित्र्याउने प्रमुख आधारको रुपमा विकास गर्न सकिने उहाँको भनाइ छ ।
फोनिजका अध्यक्ष गजुरधन राईले पनि पहिचानकै आधारमा प्रदेशको नामाङ्कन गराउन फोनिजको तर्फबाट पहलकदमी र साथ सहयोग जारी रहने बताउनुभयो ।
केन्द्रीय अध्यक्ष राईको अध्यक्षतामा विधान सम्मेलन समापन भएको फोनिज सर्लाहीका अध्यक्ष घनश्याम बलम्पाकीले जानकारी दिनुभयो ।
सम्मेलनमा भाग लिन विभिन्न जिल्लाबाट आदिवासी जनजाति पत्रकारहरु सर्लाही आएका थिए । कार्यक्रममा फोनिजका पूर्व केन्द्रीय अध्यक्ष दण्ड गुरुङ, हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी (कमल), बागमती नगरपालिकाकी उपप्रमुख लिलाकुमारी मोक्तान र नेपाल पत्रकार महाङ्घ सर्लाहीका अध्यक्ष टङ्कबहादुर क्षेत्रीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
यसैबीच, सम्मेलनले प्रदेश १ को नामकरण पहिचानको आधारमा गर्न माग गरेको छ । तत्कालिन नेपाल पत्रकार संघका संस्थापक सत्यनारयणबहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक सभापतिको रुपमा स्वीकार गर्न फोनिजले महासंघसँग माग गरेको छ ।
२०५६ साल जेठ २७ गते स्थापित फोनिजको ६० जिल्ला शाखा, ८ जातीय पत्रकार संस्था, ७ प्रदेश समिति, ८ विदेश शाखा रहेका छन् । यस संस्थामा देशभरबाट करिब साढे चार हजार आदिबासी पत्रकार आवद्ध छन् ।
सर्लाही घोषणापत्रको पूर्णपाठ
सर्लाहीको हरिवन नगरपालिका–११ हरिवनमा २०७९ फागुन २८ गतेसम्पन्न नेपाल आदिवासी
जनजाति पत्रकार महासंघ (फोनिज), संघीय समितिको पाँचौ पूर्ण बैठक तथा नीति तथा विधान
सम्मेलनबाट जारी १३ बुँदे- हरिवन घोषणापत्र–२०७९
१) प्रदेश १ सरकारले प्रदेश सभाबाट फागुन १७ गते सो प्रदेशलाई ‘कोशी प्रदेश’ नामकरण
गरेको विषयप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । मुलुक लोकतान्त्रिक गणतन्त्रात्मक
शासन व्यवस्थाको कार्यान्वयनमा रहेका बेला पहिचानजन्य नाम ‘लिम्बुवान–किरात’ नाम
राख्न यो सम्मेलनले सम्बन्धित पक्षसँग जोरदार माग गर्दछ ।
२) संघीय सरकारले हरेक वर्ष पत्रकारजन्य संस्थालाई सञ्चार तथा सूचना प्रविधि
मन्त्रालयमार्फत दिंदैआएको अनुदान सहयोग हाम्रो संस्था फोनिजलाई नियमित रुपमा
उपलब्ध नगराएकाले हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । नेपाल सरकारले संघ, प्रदेश तथा
स्थानीय सरकारमार्फत् आदिबासी जनजाति पत्रकारको बृत्ति विकास, दक्षता र मातृभाषी
पत्रकारितालाई प्रवर्धन गर्न सो अनुदान सहयोग प्रदान गर्ने नीतिगत व्यवस्था सुनिश्चित गर्न
सम्मेलनले जोरदार माग गर्दछ ।
३) सरकारले निर्माण गरेको समावेशी सञ्चार नीति अहिलेसम्म कार्यान्वयन नगरेकाले त्यसको
तत्काल कार्यान्वयन गर्न, पत्रकारको क्षमता अभिबृद्धिका लागि गठनको तयारीमा रहेको आम
सञ्चार प्रशिक्षण प्रतिष्ठानलाई समानुपातिक समावेशी चरित्रको आधारमा यथाशीघ्र गठन गर्न
यो सम्मेलन माग गर्दछ ।
४) श्रमजीवी पत्रकार ऐन एवं सरकारले पत्रकारका लागि तय गरेको न्यूनतम्पारिश्रमिक तत्काल
कार्यान्वयन गर्न यो सम्मेलन माग गर्दछ ।
५) मातृभाषी सञ्चार माध्यमको प्रवर्धनका लागि सरकारले दिंदैआएको सहुलियत र सहयोग
अपर्याप्त रहेकाले मातृभाषा संरक्षण तथा सम्बद्र्धनका लागि मातृभाषी सञ्चार माध्यमलाई
पर्याप्त सरकारी सहुलियत र सहयोग सुनिश्चित्गर्न सरकारसँग यो सम्मेलन माग गर्दछ ।
६) सरकारी तथा नीजि सञ्चार माध्यमहरुमा आदिवासी जनजाति, अल्पसंख्यक, सीमान्तकृत,
महिला, थारु, मधेसी, दलित, मुस्लिम, पछाडि पारिएको क्षेत्रका पत्रकारको समानुपातिक
समावेशी सिद्धान्तको आधारमा सहभागीता सुनिश्चित्गर्न यो सम्मेलन माग गर्दछ ।
७) आदिवासी जनजाति पत्रकारको क्षमता अभिवृद्धि तथा सशक्तिकरण गर्न तालिम तथा
प्रशिक्षणका निम्ति सरकारको तर्फबाट आवश्यक बजेटको व्यवस्था गर्न सम्मेलनले माग
गर्दछ । नेपाली सञ्चार माध्यममा आदिबासी जनजातिका विषय प्राथमिकतामा पर्न नसकेकाले
आदिबासीको अधिकार, सवाल तथा संवैधानिक विषयको सम्बोधन तथा कार्यान्वयनमा
प्राथमिकता दिन हामी माग गर्दछौं ।
८) प्रेस काउन्सिल नेपालबाट हरेक वर्ष गरिने पत्रपत्रिका वर्गीकरणमा आदिबासी जनजाति
पत्रकारले सञ्चालन गर्ने सञ्चार माध्यम प्राथमिकता पाउन नसकिरहेको अवस्थामा
आदिबासी पत्रकारले सञ्चालन गरेको सञ्चार माध्यमलाई प्राथमिकता दिन र मातृभाषी
सञ्चार माध्यमलाई विशेष प्राथमिकतामा राखी वर्गीकरण गर्न यो सम्मेलन सम्बद्ध निकायसँग
माग गर्दछ ।
९) भाषा आयोगले सरकारलाई सिफारिस गरेको सरकारी कामकाजको भाषा अहिलेसम्म पनि
कार्यान्वयनमा आउन नसकेकाले प्रदेश तथा स्थानीय सरकारले मातृभाषालाई सरकारी
कामकाजको भाषाको रुपमा प्रयोग गरी अपनत्वबोध गर्न यो सम्मेलन जोरदार माग गर्दछ ।
१०) सर्लाहीको पर्यटकीय क्षेत्र बागमती माछा पोखरी (भरत ताल), हरिहरक्षेत्र, तपोवन बुद्धपार्क,
कैलाशपुरी मन्दिर, बोहरे डाँडा, जलकेश्वर मन्दिर, डुमडुमे मन्दिर, चमेलीमाई मन्दिर,
मुक्तेश्वर ऐतिहासिक मन्दिर, नाडीमन ताल, राणाकालिन समयमा निर्माण गरिएका
ऐतिहासिक पोखरी, मधेस प्रदेशकै सबैभन्दा अग्लो चुरे क्षेत्रमा रहेको राजारानी थुम्का,
सागरनाथ महादेव मन्दिर लगायतका पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा सहयोग गर्न सरकार तथा
सम्बद्ध सबै पक्षसँग सम्मेलनलेमाग गर्दछ ।
११) यो सम्मेलन भव्य र सभ्यरुपमा सम्पन्न गर्न सहयोग गर्नुहुने हरिवन नगरपालिका, बागमती
नगरपालिका, हरिपुर नगरपालिका, लालबन्दी नगरपालिका, फोनिज सर्लाही शाखा, नेपाल
पत्रकार महासंघ सर्लाही शाखा, सर्लाही सुरुक्षा निकाय, प्रेस चौतारी नेपाल, नेपाल प्रेस
युनियन, फोटो पत्रकार महासंघ, तामाङ पत्रकार संघ, नेपाल तामाङ घेदुङ जिल्ला समन्वय
समिति सर्लाही, नेपाल मगर संघ सांस्कृतिक टोली, सम्राट होटल, हिमाल होटल, थकाली
भान्साघर, युनाइटेड होटल लालबन्दी, लालबन्दी तरकारी थोक बजार समितिलगायत
सर्लाहीमा क्रियाशील पत्रकारसहित सबैलाई सम्मेलन हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।
१२) यस अवधिमा फोनिज धनकुटा जिल्ला शाखाका सचिव पूर्णकुमार चौधरी, फोनिजको पूर्व
केन्द्रीय सदस्य शेरबहादुर भुजेल, रुपन्देही फोनिजको संस्थापक उपाध्यक्ष टेक मास्कीको
असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दछौं । सम्मेलनले
शोकमा रहेका परिवारजन तथा अफपन्तप्रति गहिरो समवेदना व्यक्त गर्दछ ।
१३) मधेस प्रदेशमा रहेका पर्यटकीय तथा ऐतिहासिक स्थलहरु रामजनकी मन्दिर, गढीमाई (बारा),
पर्यटकीय सम्भावना बोकेका दुधेश्वरनाथ मन्दिर (पर्सा), भिस्वा डाँडा (पर्सा), पर्सागढी, ठोरी,
सिम्रौनगढ (बारा), शक्ति महादेव झरना (बारा), नुनथर पर्यटकीय स्थल (रौतहट), सप्तरीको
कंकालिनी मन्दिर, त्रिरत्न गुम्बा, सखडा मन्दिर, शम्भुनाथ मन्दिर, सनि मन्दिर, लोहजरा दह,
महोत्तरीको परौल मन्दिर, टुटेश्वर महादेव, सोनामाई मन्दिर, पञ्चधुरामाई जलेश्वर महादेव,
मंगलनाथ महादेवको प्रवद्र्धन तथा संरक्षण गर्नमा सरकार तथा सम्बद्ध सबै पक्षसँग सम्मेलनले
माग गर्दछ ।
२८ फागुन २०७९
हरिवन नगरपालिका –११, हरिवन, मधेस प्रदेश
सर्लाही
घोषणापत्र समिति
१) लक्की चौधरी संयोजक
२) समीर बलामी सदस्य
३) यमन दनुवार सदस्य
४) दुष्यन्त चौधरी सदस्य
५) सुजाता लिम्बु सदस्य
६) घनश्याम बलम्पाकी सदस्य
७) उदय पाख्रिन सदस्य