राती म्याच हेरेर हामी आवाराहरु बिहान चोकको चिया पसलमा 'कतिबेला कसलाइ रिप्लेस गर्नुपर्थ्यो वा स्कोररले सेकेण्ड बार च्यापे गोल भैसकेको थियो' टाइपका बोक्रे - विश्लेषण गर्थ्यौ। तर त्यहाँ भएजती पन्ध्र-सोह्रजना फुटबल विशेषज्ञ सबै एकैपटक बोल्दा त्यो बाँसघारीको रुप्पीको आवाज जस्तै सुनिन्थ्यो।
मात्रै बत्तिस बर्ष अगाडि ‘मैले टिभीमा फुटबल हेरें’ भन्दा गाउँमा बेग्लै शान हुन्थ्यो। हेर्न नपाएकाहरु चुक्चुकाएर हेर्नेका कमेन्ट्री सुन्थे – फुटबल अर्थात् वर्ल्ड कप।
हामीले सुनेको पहिलो फुटबलरको नाम ‘पेले’ थियो। उनी यति प्रसिद्ध थिए कि समाजमा उनको नामलाइ ‘अद्वितीय’ को पर्यायबाचीको रुपमा लिइन्थ्यो। जस्तो कि पौडी खेल्नमा पेले, रुख चढ्नमा पेले, गुच्चा खेल्न पेले, पढ्नमा पेले इत्यादि।
फर्किहेर्दा 1990 देखि हामीलाई टिभीमा वर्ल्ड कप हेर्ने नसिब भएछ। एकदमै हुनेखानेका घरमा पनि टिभी नामका 14″ का B/W ट्याप्रा हुन्थे। हाम्रो घरमा शुरुमा टिभी नभएकले अर्काकै घरमा टिभी हेर्न गइन्थ्यो – धेरै जाने गर्थे। नहकारी टिभी हेर्न दिने मान्छेका घर खोज्दै हिंडेका मान्छे बाटामा दोहोरिलत्ता भेटिन्थे। टिभीघरका सिंढिमुनी चप्पलका रास देखेरै ‘आज टिभी अरुका दुइवटा टाउकाका बिचबाट सिस ताकेर हेर्नुपर्ने भएछ’ भनेर थाहा हुन्थ्यो। अझ ‘रामायण’, ‘महाभारत’ र ‘श्रीकृष्ण’ आउँदा त मान्छे हातमा फुल लिएर जुका गुजुल्टिए सरि ठेलाठेल गरेर खुसुखुसु बाझ्दै लट्टा परेर बसेका हुन्थे। भगवानको खेला आएको बेला जस्तै खडुस टिभी मालिकले पनि पापको डरले केही भन्न पनि नसक्ने!
यस्तै बेलामा हामीले भने साथी रोसन राई (स्व.) को घरमा 90 को वर्ल्डकप हेर्ने ऐतिहासिक अवसर पाएका थियौं त्यो पनि चिटिक्क परेको 20 इन्चको सोनि टिभीमा। पत्रीकामा मात्रै देखे-पढेका माराडोनालाइ आकाशे रङ्गको जर्सिमा पहिलोपटक त्यहीँ पाएर धन्न भइएको थियो। उनिसङ्ग कनिजिया जस्ता स्टायलिस विङ्गर पनि हुने गर्थे। अलि पछि गाउँघरतिर ‘बत्तिसटुट्टा’ को नामले चिनिने Batistuta आए जसको पावरफुल सट पोलमा लाग्दा ‘भाँचिन्छ कि क्या हो?’ जस्तो लाग्ने गर्थ्यो। त्यसपछी आए डुङ्गा,रोनाल्डो,रिभाल्डो,रोमारियो इत्यादी ब्राजिलबाट। स्टोइचकोभ, लड्रप ब्रदर्स,भाल्डेरामा, जेङ्गा,सिलाची,म्याथ्युस, लिनेकर आदिलाइ पनि चिन्दै गइयो।
ती मध्ये पनि इटालिका रोबर्टो बाजियो सबैभन्दा आकर्षक लाग्थे आफुलाइ,उनको शान्त स्वभाव,पोनिटेल देखेर, यो बाहेक अर्को पनि कारण थियो उनी बुद्धिस्ट हुनु – यसकारण कि मेरो छोटो बुद्दिले बुद्धलाई नेपालको पेवा सन्त्त ठान्दथ्यो।
राती म्याच हेरेर हामी आवाराहरु बिहान चोकको चिया पसलमा ‘कतिबेला कसलाइ रिप्लेस गर्नुपर्थ्यो वा स्कोररले सेकेण्ड बार च्यापे गोल भैसकेको थियो’ टाइपका बोक्रे – विश्लेषण गर्थ्यौ। तर त्यहाँ भएजती पन्ध्र-सोह्रजना फुटबल विशेषज्ञ सबै एकैपटक बोल्दा त्यो बाँसघारीको रुप्पीको आवाज जस्तै सुनिन्थ्यो।
यस्तैमा छिमेकमा एकजना साथीकोमा 17″ को सादा टिभी ल्याएकाले हामी 14″ वालाहरु ठूलो स्क्रिनमा मजाले हेर्न भनेर भेला भएका थियौं। त्यहाँ बालकदेखि वृद्धसम्मका अरु छिमेकीहरु पनि पट्टल बाँधेर गजधम्म बसिसकेका थिए। यत्तिकैमा सेमिफाइनलको त्यो इन्टेन्स म्याचको हाफ टाइम भइहोरी सेकेण्ड हाफ शुरु भएको अलिक बेर भएको थियो, हामीसङ्ग बोलचाल नभएका झण्डै ६०-६२ का एकजना छिमेकीले सोधे – “हैन यो खेलाडी अघिदेखी जतिबेला पनि बलको छेउमा पुगिराखेको हुन्छ तर बल चैं हान्दैन त? कुन टिमको हो त्यो चैं? सेतोको कि कालोको ।”
कुन चै खेलाडी रहेछ भनेर यसो नियालेर हेर्दा अन्तिममा खुट्टयाइयो – ब्ल्याक एन्ड व्ह्वाइट टिभीमा अहिलेसम्म रेफ्रीलाई पनि खेलाडी नै सम्झेर म्याच हेर्दै रहेछन बाबै भनेर।
29You, Keshab Dahal and 27 others
8 Comments
Like
Comment
Share