खगेन्द्र खड्का
५०/५१ सालतिरको कुरा होला यो, त्यसै सर्पले खेदाए जस्तो दौडिरहेका मान्छेहरुले भरिएका मान्छेहरु मात्रको यो सहर काठमाण्डौबाट उच्चाट लागेर घरको बाक्लो याद आउन थालेको पन्ध्र दिन कटिसकेको हुन्थ्यो। डिप्लोमा पढ्न काठमाडौं हान्निएका हामी घरको तिर्सनाले निस्लोट भैसकेका हुन्थ्यो। दशैंको मुखमा त झन् खपिनसक्नु नै भएर आउँथ्यो।
भृकुटीमण्डपमा हङ्गकङ्ग बजार सरिसकेकै थिएन – टुँडिखेलमै थियो। यो बिस्तारै झन् गुलजार हुँदै जान्थ्यो जसै जसै दशैंले छोप्दै जान्थ्यो – मानौ यो मधेश आन्दोलन पछाडिको इटहरी हो। बसपार्क बालाजुमा सरिसकेकै थिएन, त्यो बल्ल-बल्ल सुन्धाराबाट बिजुली अफिसको छेउ – अहिले भनिने पुरानो बसपार्कमा सरेको थियो । नेपालभरी छरिने बस त्यहीँबाट छुट्थे र त्यहीँ आइपुग्थे । डल्ले ट्याम्पो र जापानीज ट्याक्सी मात्र हुने त्यो समयमा माइक्रो बसको त कल्पना पनि गर्नु परेन । दिनैपिच्छे टिकट काउण्टरमा आउने-जाने गर्दा गर्दा ‘बुकिङ्ग’ सङ्ग दोस्ती भैसकेको हुन्थ्यो, तर यो दोस्तिको जग स्वार्थको टेकोमा अडिएको हुनाले दोस्तिले सय-सवासय रुपैयाँमा लास्टको पाँच सिटे लामो सिट वा मुढा सम्मको जोहो मात्रै गराउथ्यो। तर हामी अल्लारेलाइ गाडिभित्र पस्नै मात्रै दिए पनि त्यही लाख हुन्थ्यो – घर जाने उत्साहले। घरैदेखी ल्याएको एउटा खाट, एकसरो ओढ्ने-ओच्छ्याउने, मट्टीतेलवाला स्टोभ र अलिअली भाँडाकुँडा भएको डेरामा पच्चिस रुपैयाँको पित्तले ताल्चाको अस्तर लगाएर निस्फिक्री हिडिँन्थ्यो दशैमा घर। मुङ्गलिङ्ग बाट रामनगर सर्दै थियो खाना खाने ठाउँ। यस्तो ठाउँमा गाडी रोक्थे कि अन्त जाने च्वाइस नै हुन्न थियो । स्टाफलाइ भान्जे ज्वाईंलाइ जस्तो तारेको र भुटेको मासु, ताजा घिउ जस्ता मीठो मसिनो टक्र्याउथे भने यता हामी पेसिन्जरलाइ भैंसीको बासी कुँडो जस्तो भिडाउथे।
तरैपनी अलिक सुबानी कन्डक्टर परेछ भने आफुले दिएको ‘साजन’, ‘दिल है कि मानता नहि’, ‘सडक’ वा ‘किशोर कि यादे’ आदिका चक्का बजाइदिइ पनि हाल्थे। एकनासले गुडेको नाइटबसमा जसै किशोर कुमार प्रेयसिलाइ प्रश्न गर्थे ‘छुकर मेरे मनको किया तुने क्या इशारा?’ मनमा हजार सपना फुल्ने त्यो किशोरवय, घर जाँदै गरेको आनन्दमा मन परेको गितको आनन्द थपिँदा हर्षातिरेकले भावुक भएर किलकिलेमा केही अड्के जस्तो हुन्थ्यो।
इटहरी-तरहरा जाने हाम्रो हुद्दै हुन्थ्यो। लहानदेखी घर आउन लाग्यो भनेर घरगाउँकै कल्पना गर्दै जागै रहिन्थ्यो भलै घर आउन अझै सय किमि. होस्। कोशीको छेउ पुग्दा भुकभुके उज्यालो हुन्थ्यो, इटहरी आइपुगेपछी त गाउँठाउमै पुगे जस्तो लागिहाल्ने। तरहरा पुगेर गाडिबाट उत्रिएपछि चै पाँच मिनेटमा पुगिने घर पनि दुई घण्टा अगाडि कहिल्यै पुग्न सकिदैनथियो किनभने जिज्ञासु तरहराबासीका ‘देश कता जादैछ?काठमाडौंमा के हल्ला छ त?’ देखि लिएर ‘अनि अन्तरास्टमा के हुदैछ?’ जस्ता गम्भीर प्रश्नहरुको जवाफ दिने जिम्मेवारी पनि सारा गाउँलेले हाम्रै कलिला काँधमा हालेका हुन्थे।
बल्लतल्ल जसै घरभित्र छिरिन्थ्यो, गोबरले लोटाएको त्यो भुइँ,पोखरिको डिलको अम्बाको बोट, परालको माच, परेवाको खोर ती सबै सबै दुई हात फैल्याएर स्वागत गर्थे।
र, मुँवा काट्न नसकिने गरि भन्नुहुन्थ्यो – ‘भोकाइस् होला, पहिले भात खा है भाइ, अनि मत्तै नुहाउनु!’
यसरी साँच्चै घर आइपुगिएछ भन्ने थाहा हुन्थ्यो।
लेखक सोल्टी टिभी डट कमका सल्लाहकार हुनुहन्छ । -सम्पादक